काठमाडौं, माघ २५ । प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले माघ २८ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। २८ माघमा काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभामा सहभागी बन्न आइतबार फेसबुक पेज मार्फत अपिल गरेको हो। प्रदर्शन केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा हुनेछ।
नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोध सभामा सहभागी बन्न सबैमा अपिल गरेका हुन्।
सो क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रूपमा सभा र जनप्रदर्शन राखिएको बताए। यसै गरी अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध पार्टीले पुनः विरोध सभाको आयोजन गर्न लागेको बताए।


























