माघ २५ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई ठुला क्लब लिभरपुल र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ। लिभरपुलले घरेलु मैदानमा सिटीको सामना गर्नेछ। लिभरपुल र सिटीबीचको खेल राति सवा १० बजे सुरु हुनेछ।
साविक विजेता समेत रहेको लिभरपुल घरेलु मैदानमा जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ। खराब लयमा रहेको लिभरपुल ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ। लिभरपुल लिग लिडर सिटी भन्दा ७ अंकले पछि रहेको छ।
यता, सिटी भने लिभरपुललाई उसैको मैदानमा हराएर उपाधि होड थप बलियो बनाउन चाहन्छ। सिटी ४७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। लिभरपुललाई हराउँन सकेमा सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने छ। घरेलु मैदानमा सिटीविरुद्ध साडियो माने, फाबिन्हो र गोलकिपर एलिसन बेकरले खेल्ने सम्भावना रहेको छ। उनीहरु अघिल्ला खेलमा टिममा थिएनन्।
त्यस्तै जनवरी ट्रान्सफरमा अनुबन्धित ओजन काबाक पनि सिटीविरुद्धको खेलमा उपलब्ध हुने छन्। सिटीका केभिन डी ब्रुएन, सर्जियो अग्युरो र नाथन एके टिममा हुने छैनन्। प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा टोटेनहमले वेस्ट ब्रुमसँग खेल्दा लेष्टर उल्भ्ससँग खेल्नेछ। चेल्सीले सेफिल्डसँग उसैको मैदानमा खेल्नेछ। एजेन्सी


























