काठमाडौं, माघ २४ । मुलुकमा कोरोना भाइरसको संक्रमणले व्यवसाय र रोजगारी खुम्चिरहेको बेला मोबाइल व्यापार भने चम्किएको छ। नेपालमा कोरोना संक्रमण उच्च भएकै बेला मोबाइल हेन्डसेटको आयात गत वर्षभन्दा दोब्बर भएको हो।
भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार यस अवधिमा मुलुकमा २० अर्ब ६३ करोडभन्दा धेरै मूल्य बराबरको मोबाइल हेन्डसेट आयात भएका छन्। यस अवधिमा मुलुकमा ३६ लाख ६४ हजार ६ सय ३० वटा मोबाइल हेन्डसेट आयात भएका छन्।
यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर हो। गत वर्ष २०७६/७७ को पहिलो ६ महिनामा मुलुकमा ११ अर्ब ७८ करोड ८८ लाख ४९ हजार मूल्य बराबरका २९ लाख ६८ हजार ८ सय २५ वटा मोबाइल हेन्डसेट आयात भएको देखिन्छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात भएको मोबाइल गत आर्थिक वर्षभरीको भन्दा झन्डै २ अर्ब रुपैयाँले बढी हो। गत आर्थिक वर्षभरीमा मुलुकमा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार मूल्य बराबरका ४३ लाख ६५ हजार ९ सय ९० वटा मोबाइल सेट आयात भएका थिए।
कोरोना संक्रमणले शैक्षिक संस्था, व्यवसायदेखि कार्यालयहरुले घरबाटै काम गर्ने व्यवस्था मिलाउँदा डिजिटल सामग्रीको माग बढेको छ।


























