काठमाडौं, माघ २१ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति कार्यालयमा आज भएका संवैधानिक निकायका पदाधिकारी नियुक्ति असंवैधानिक कदम भएको बताएका छन्। नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र शाहको शैलीमा अघि बढेको उल्लेख गर्दै आयोगहरुमा गरिएको एकलौटी निर्णयले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
‘असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएका नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ। संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित ‘म नै संविधान हूँ’ भन्ने दम्भ उजागर भएको छ,’ सिंहले आजको कदमबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘संवैधानिक परिषदको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको (कोरम नपुगेको) बैठकले गरेको सिफारिस नै असंवैधानिक थियो। त्यसैले आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो।’
संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ। बुधवार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा संवैधानिक निकायका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शपथ ग्रहण गराएका हुन्।
संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुने उल्लेख गर्दै नेता सिंहले ७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको बताएका छन्।


























