काठमाडौं, माघ १८ । कीर्तिपुर नगरपालिकाले आयोजना गरेको नेपाल भाषाको लघु चलचित्र प्रतियोगितामा प्रदीप खड्गीद्वारा निर्देशित चलचित्र ‘साःगः’ ले प्रथम पुरस्कार जितेको छ। डेल्टा मल्टिमिडिया प्रोडक्सनले निर्माण गरेको ‘साःगः’ ले प्रथम पुरस्कारसंगै प्रमाणपत्र, ट्रफिको साथमा नगद एक लाख रुपैयाँ हात पारेको छ।
यो चलचित्रमा एसराज गराच, राजेन्द्रमान शाक्य, सुरज व्यञ्जनकार, दीया श्रेष्ठ आदि कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन्। कीर्तिपुर नगरपालिकाद्वारा उक्त प्रतियोगितामा सहभागि ७ वटा चलचित्रको प्रिमियरसंगै विजेताको घोषणा गरिएको हो।
प्रतियोगितामा नेवाः युट्युबको ब्यानरमा निर्मित ‘आजुद्यः’ ले दोस्रो पुरस्कार जितेको छ भने शशिकला मानन्धरको प्रस्तुति ‘लाखय् पाः’ तेश्रो हुन सफल भयो।
दोश्रो तथा तेश्रो स्थान हासि लगर्न सफल चलचित्रलाई क्रमश: ७५ हजार तथा ५० हजार रुपैयाँ प्रदान गरियो। फोकस पिक्चर्सको ब्यानरमा निर्मित भाईकाजी महर्जन ‘नयन’को निर्देशन रहेको ‘न्हय्का सिँ’ ले सान्त्वना पुरस्कार जितेको छ। सान्त्वना पुरस्कारवापत २५ हजार रुपैयाँ दिइएको थियो। सहभागी सबै चलचित्रलाई १०–१० हजार रुपैयाँ दिइएको थियो। नेपाल भाषाका चलचित्र प्रतियोगिताहरुमा यो अहिलेसम्मकै सर्वाधिक राशी भएको पुरस्कार हो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कीर्तिपुरको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले चलचित्रको माध्यमबाट कीर्तिपुरको ईतिहास उजागर गर्नको साथै समाजमा मौखिक रुपमा जिवित रहेका किम्वदन्ति, लोक कथा जस्ता लोक सम्पत्तिहरुको अध्ययन अनुसन्धानको लागि प्रतियोगीताको आयोजना गरिएको बताए।
प्रतियोगीतामा कीर्तिपुरसँग सम्वन्धित किम्वदन्ति, ईतिहास र संस्कृतिमा आधारित भएर बनाइएका चलचित्र मात्र समावेश गराइएको थियो।कलाकार लक्ष्मीकुमार महर्जनको संयोजनमा प्रतियोगिता सम्पन्न भएको थियो।
रामकृष्ण दुवालको संयोजनमा वरिष्ठ निर्देशक पवन जोशी, निर्देशक र कलाकार रामकृष्ण खड्गी, दृश्य सम्पादक साथै ग्राफिक्सकर्मी रजिन महर्जन र कलाकार पल्पसा डंगोल सम्मिलित निर्णायक मण्डलले विजेता चलचित्रको चयन गरेको थियो।


























