काठमाडौं, माघ १७ । त्रिभुवन आर्मी क्लबले चौंथो संस्करण प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।
टियु क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो। एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन्। उनले ७१ बलमा ६१ रन जोड्दै खराब सुरुवात गरेको एपीएफको इनिङ्स उकासेका थिए।
यस्तै शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बनाए। सुवास खकुरेल १४ रनमा आउट हुँदा कप्तान शरद भेषवाकर सुन्य रनमा आउट भए।सन्दीप जोराले २९ रन जोड्दा भुवन कार्की ९ रनमा आउट भए। कमल ऐरी २, अमर रौटेला १ र अविनास बोहोरा सुन्य रनमा आउट भए। आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३/३ विकेट लिए। सुशन भारीले १ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो। आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले।
राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए। यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे। मध्यम सुरुवात गरेका आर्मीका सुशन भारी र रोहित पौडेल समान १३/१३ रन जोड्दा आउट भए। त्यस्तै अनिल मण्डल र बिक्रम शोब समान ११/११ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी ७ रन जोडेर पेभेलियन फर्किए। एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए। किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए।
उपाधिसंगै आर्मीले १० लाख प्राप्त गरेको छ। उपविजेता बनेको एपीएफले ५ लाखमा चित्त बुझायो। आर्मीको यो पहिलो एकल उपाधि हो। यस अघि पहिलो संस्करणमा आर्मीले उपाधि पुलिससँग बाडेको थियो। यस्तै आर्मीले एपीएफसँग समूह चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ। समूह चरणमा आर्मी एपीएफसाग ६ रनले पराजित भएको थियो। एपीएफ भने दोस्रो उपाधि जित्न असफल भएको छ। यस अघि एपीएफले सन् २०१८ मा उपाधि जितेको थियो।


























