काठमाडौं, माघ १७ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई जितका लागि २ सय १२ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनायो।
आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले। राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए। यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे।मध्यम सुरुवात गरेका आर्मीका सुशन भारी र रोहित पौडेल समान १३/१३ रन जोड्दा आउट भए। त्यस्तै अनिल मण्डल र बिक्रम शोब समान ११/११ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी ७ रन जोडेर पेभेलियन फर्किए।
एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए। किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए। आज एपीएफ र आर्मी उपाधि आफ्नो बनाउने लक्ष्यसहित मैदान उत्रिएका छन्। एपीएफ अपराजित रहदै फाइनल पुगेको हो।
सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३० रनले हराएको थियो। आर्मीले सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराएर एपीएफसँगको भेट पक्का गरेको हो। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन्। यस्तै प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ। उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५/२५ हजार पाउने छन्।


























