काठमाडौं, माघ १६ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार दुई विभागीय टिम एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन्।
टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान ९ बजे सुरु हुनेछ। चौंथो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र आर्मी उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ। एपीएफका कप्तान शरद भेषवाकर र आर्मीका कप्तान विनोद भण्डारी दुबै उपाधि जित्नेमा आशावादी छन्।
फाइनल अघि शुक्रबार आयोजित प्रि-म्याच कन्फरेन्समा दुबै टिमका कप्तानले उपाधिका लागि खेल्ने बताए। फाइनल पुग्नु खुसीको कुरा हो। फाइनल बाँकी छ। आशा छ भोलि राम्रो हुनेछ, एपीएफका कप्तान शरदले भने, ‘टिमले राम्रो खेलिरहेको छ। चुनौतिपूर्ण अवस्थामा पनि राम्रो भएको छ।’ एपीएफ अपराजित रहदै फाइनल पुगेको हो। समूह चरणमा एपीएफ अपराजित रहने एक्लो टिम हो।
पहिलो खेलमा एपीएफले प्रदेश-१ लाई १ सय ३५ रनले हराएको थियो। यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराएको एपीएफले तेस्रो खेलमा कर्णाली प्रदेशलाई ७१ रनले हराएको थियो। समूह चरणको अन्तिम खेलमा आर्मीलाई ६ रनले हराएर एपीएफ समूह विजेता बनेको थियो। सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३० रनले हराएको थियो। अपराजित यात्राले उत्साहित शरद आर्मीविरुद्धको फाइनलमा उत्कृष्ट टिम उतार्ने बताउछन्।
‘भुवन कार्की फिट छन्। बसन्त रेग्मीको भन्न सकिने अवस्था छैन। आर्मीसँग उत्कृष्ट प्लेईङ सेट हुन्छ,’ शरदले थपे। शरदले फाइनलमा आफ्नो व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्ने बताए। राम्रो गर्ने भोको छ। आशा छ भोलि टिमका लागि उत्कृष्ट दिनेछु,’ शरदले भने। समूह चरणमा आर्मी एपीएफसँग ६ रनले पराजित भएपनि अन्य खेलमा विजयी भएको थियो।
आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले हराएको थियो। यस्तै कर्णालीविरुद्ध ८० रनको जित निकालेको आर्मीले प्रदेश १ विरुद्ध ४ विकेटको जित निकालेको थियो। आर्मीले सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराएर एपीएफसँगको भेट पक्का गरेको हो। आर्मी फाइनलमा भने एपीएफसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन्। यस्तै प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ। उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५/२५ हजार पाउने छन्।


























