माघ १६ । राष्ट्रिय महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो जित दर्ता गरेको छ। उसले शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुर नगरपालिकामाथि १०–० को सानदार जित हात पारेको हो।
आर्मीलाई सहज जित दिलाउन शर्मिला थापा र रश्मी घिसिङले समान ४–४ तथा विमला चौधरी र सपना लामाले समान १–१ गोल गरे। खेलको तेस्रो मिनेटमा नै विमलाको गोलमा आर्मीले अग्रता लिएको थियो। १५ औं मिनेटमा रश्मीको पासलाई सदुपयोग गर्दै शर्मिलाले अग्रता दोब्बर बनाइन्।
खेलको ३५ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो तथा आर्मीका लागि तेस्रो गोल गर्दा ४४ औं मिनेटमा सपनाले चौथो गोल गरिन्। पहिलो हाफमा ४ गोल गरेको आर्मीले दोस्रो हाफमा ६ गोल थप्यो। ५१ औं मिनेटमा शर्मिलाले ह्याट्रिक पुरा गर्दा ५९ र ६२ औं मिनेटमा रश्मीले गोल गरिन्।
६४ औं मिनेटमा शर्मिलाले व्यक्तिगत चौथो गोल गर्दा आर्मी ८–० ले अगाडि बढ्यो। ६६ औं मिनेटमा रश्मीले ह्याट्रिक पुरा गरिन्। ८४ औं मिनेटमा रश्मीले नै व्यक्तिगत चौथो गोल गर्दा आर्मी १०–० ले विजयी भयो। जितसँगै आर्मीले ४ खेलबाट ७ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। पराजय ब्यहोरेको चन्द्रपुरको समान खेलबाट ३ अंक छ।


























