माघ १६ । नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा स्पेजियालाई ४-२ गोल अन्तरले पराजित गर्दै नापोली अन्तिम चारमा पुगेको हो।
नापोलीको जितमा कालीडोउ कुलेबाली,हिर्भीङ लोजानो, माटियो पोलीटानो र एल्जिफ एल्मासले एक एक गोल गरे। स्पेजियाका इम्यानुएल ग्यासी र गेनारो अकम्पोराले एक एक गोल फर्काए। खेलको पाँचौं मिनेटमा कालीडोउको गोलबाट नापोलीले अग्रता बनाएको थियो।
खेलको २० औं मिनेटमा लोजानोले गोल गर्दा नापोलीको अग्रता २-० को बन्यो। माटियोले खेलको ३० औं मिनेटमा गोल गर्दा घरेलु टिम ३-० ले अघि रह्यो।खेलको ४० औं मिनेटमा एल्जिकले गोल गर्दै टोलीको अग्रता ४-० को बनायो। दोस्रो हाफमा स्पेजियाले दुई गोल फर्कायो। खेलको ७० औं मिनेटमा इम्यानुएलले गोल गर्दै खेल ४-१ मा ल्याए।
त्यसपछि खेलको ७३ औं मिनेटमा अकम्पोराले थप एक गोल गरेपनि स्पेजिया ४-२ ले पराजित भयो। अब नापोलीले सेमिफाइनलमा एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ। एजेन्सी


























