काठमाडौं, माघ १५ । त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो।
अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ। पुलिसलाई हराएर एपीएफ यस अघि नै फाइनल पुगिसकेको छ। फाइनल खेल शनिबार हुनेछ। आर्मीले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ३५ रनमा समेटियो। बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाए।
यस्तै विपिन आचार्यले २३ रन जोड्दा आदील खानले १० रन जोडे। नन्दन यादवले अविजित २२ रन जोडे। बागमतीलाई सस्तैमा समेट्न आर्मीका जितेन्द्र मुखियाले ४ विकेट लिए। सुशन भारी र बिक्रम शोबले ३/३ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो। आर्मीका लागि राजेश पुलामीले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम सोबले ३५ रन बनाए। लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए। बागमतीका गौतम केसीले ५ विकेट लिए। राम नरेश गिरि, नन्दन यादव,तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिए।
पीएम कपको पुरस्कार
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन्। सेमिफाइनलमा पुग्ने टिमले ५०/५० हजार पाउने छन्। प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ। उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन्।


























