चितवन, माघ १५ । थारु समुदायको मुख्य पेसा खेतीपाती भएता पनि माछा मार्ने पेसा होइन। तर थारुमा माछा मार्ने कला भने हुन्छ। माछा मार्न प्रयोग गरिने वस्तु अनि माछा मार्ने कला अन्य समुदायभन्दा थारु समुदायमा फरक छ। थारु समुदायहरुले मान्ने हरेक चाडपर्वमा माछा मार्ने चलन अनिवार्य थियो। तर अहिले विभिन्न कारणले यो परम्परा करिब-करिब लोपोन्मुख अवस्थामा पुगिसकेको छ। आजभोलि बजारमा पनि प्रशस्तै माछा पाइन्छ। त्यसैले हरेक चाडपर्वमा बजारबाटै माछा किनेर खाने चलन पनि बढ्दै गएकाे छ, जसकारण पाेखरीकै माछा भान्छामा पुग्ने गरेका छन्।
थारु समुदायको माछा मार्ने स्थान भनेकै नजिककाे खोलानाला हो। राष्ट्रिय निकुञ्ज स्थापना भएपछि माछा मार्ने परम्परा पनि लोपोन्मुख अवस्थामा पुगिसकेको छ। पहिला सम्पूर्ण गाउँवासी एकजुट भएर माछा मार्ने गर्दथे। यसका लागि खोलामा बाँध बाधेर दुवाली थुनेर (पानीको धारलाई परिवर्तन गर्ने काम) माछा मार्ने गरिन्थ्यो। यसरी नै दिनभरी माछा मार्ने चलन थियो। दिनभरीमा करिब-करिब २५/३० कुइन्टल माछा लिएर गाउँ पर्किन्थे। अनि त्यो माछा गाउँका सम्पूर्ण परिवारमा बराबर भाग लगाइन्थ्यो।

एकैचोटी धेरै मात्रामा माछा मार्न सकिने जालबाट पनि धेरै तरिकाबाट माछा मार्न सकिन्छ। सामान्यतया जालबाट धेरै माछा भएको स्थानमा गई माछा मारिन्छ। यो कार्यलाई जाल हान्ने भनिन्छ। अर्को तरिकामा काँचो माटोमा गहुँ अथवा चामलको पीठो मिसाई माटोलाई गोलो बानाई माछाको संख्या धेरै भएको स्थानमा राखिन्छ। केही समयपछि त्यही स्थानमा जाल हानिन्छ। यसलाई थारु भाषामा भुषहारी भन्ने गरिन्छ।

घौंका प्रयोग गरेर माछा मार्ने तरिका पनि करिब-करिब हराउने अवस्थामा पुगिसकेको छ। जसलाई घौंकहरी भन्ने गरिन्छ। यसमा जालमा प्रयोग हुने मसिनो धागो यसमा प्रयोग गरिएको हुन्छ। जसमा अंग्रेजी ‘डी’ आकारको बिँड लगाइएको हुन्छ। जाल प्रायःजसो पुरुषहरुले माछा मार्न प्रयोग गर्छन् भने घौंका पुरुष र महिला दुबैले प्रयोग गर्छन्। माछा मार्न थारुहरु आफैंले बनाएका औजार प्रयोग गर्छन्। महिला र पुरुषहरुले फरक–फरक औजार प्रयोग गरी माछा मार्छन्। घौंका प्रायःजसो स-साना माछाहरु मार्न प्रयोग गरिन्छ।

घौंकाले माछा मार्दै थारु महिला
धान खेतहरुमा बग्ने पानी, कुलोमा बग्ने पानीहरुमा थाप्ने ढडीयालाई (बणीयार) भन्ने गरिन्छ। यो ढडीया कुलेसोहरुमा रातभरी त्यसै थापेर छोडिन्छ अनि अर्को दिन बिहानै निकाल्ने गरिन्छ। यसमा पनि थुप्रै माछाहरु पर्ने गर्दछ।

माछा मार्ने ढडीया
पानी कम भएका स-साना कुलेसोहरुमा परिवारका केही सदस्यहरु मिलेर माछा मार्ने कामलाई ओदहा भनिन्छ। यसमा आफूले पहिल्यै देखेका कुलेसोहरुमा गई पानी फालेर माछा मार्ने गरिन्छ। असारको अन्तिमतिर रोपाईं सकेर फुर्सदिला भएकाहरु धान नपाक्दासम्मको समयमा खाल्डाखुल्डी र पानी जम्ने खेतमा माछा मार्ने गर्छन्।


























