बझाङ, माघ १४ । खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित तीन जना पक्राउ परेका छन्। छब्बिसपाथिभेरा गाउँपालिका–३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा वर्ष २७ का अमृत सिंहको मृत्यु भएको थियो।
खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका–२ का वर्ष ३२ का ज्ञानबहादुर कडायतलाई मङ्गलबार नै घटनास्थलबाटै पक्राउ गरिएको थियो। सोही ठाउँका फरार रहेका अन्दाजी वर्ष ३० का प्रकाश ऐडी र केदार ऐडीलाई बुधबार थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। रासस
Facebook Comments


























