चितवन, माघ १४ । कोभिड–१९ विरुद्धको खोप अभियान जिल्लाका तीन ठाउँबाट शुरु गरिएको छ। भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट शुरु गरिएको हो। भरतपुरमा अस्पतलका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारी, टाँडीमा महिला स्वयंसेविका ईश्वरीदेवी बस्नेतले पहिलो डोज खोप लगाएर शुभारम्भ गरिएको छ। यस्तै माडीमा नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले पहिलो डोज लगाएर शुभारम्भ गरिएको हो।
जिल्लामा चार हजार २०० जनालाई पुग्ने खोप आएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए। उनका अनुसार भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकालाई समेटेर खोप दिइनेछ। यस्तै रत्ननगर अस्पतालमा पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकालाई समेटेर खोप दिइनेछ। माडीमा माडी नगरपालिका भित्रकालाई दिइने कार्यक्रम रहेको तिवारीले बताए। आगामी नौ दिनभित्रमा पहिलो चरणको खोप लगाइसक्ने उनले जानकारी दिए। रासस