काठमाडौं, माघ १४ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदैछ। टियु क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्।
विभागीय डर्बी भिडन्त बिहान ९ बजे सुरु हुनेछ। पहिलो सेमिफाइनलको लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने योजनामा हुनेछ। दुई उपाधि दाबेदार क्लब जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ। प्रतियोगितामा एपीएफ निकै बलियो देखिएको छ। समूह चरणमा एपीएफले हार व्यहोरेको छैन।
समूह ‘ए’ को एपीएफले ४ खेलमा ४ जित निकालेको थियो। एपीएफ ८ अंक जोडेर समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो। पुलिस भने समूह ‘बी’ को उपविजेता बन्यो। पुलिसले समूह चरणमा एक खेलमा हार बेहोरेको थियो। पुलिस समूह चरणमा बागमती प्रदेशसँग पराजित भएको थियो। समूह चरणमा पुलिसले ६ अंक जोडेको थियो।
एपीएफ र पुलिसबीचको विजेता फाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ। बागमती र आर्मीबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ। प्रतियोगिताको विजेताले १० लाख पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।


























