काठमाडौं, माघ ११ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ। आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सान्त्वना जित निकालेको हो।
टियु क्रिकेट मैदानमा प्रदेश-२ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। सुदूरपश्चिमको जितमा सन्जु धिमालले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान खडक बोहोराले ४३ रन जोड्दा गजेन्द्र बोहोराले ३९ रन बनाए।
अरुण ऐरीले १९ रन जोड्दा अर्जुन साउद ७ रनमा आउट भए। प्रदेश-२ का कुमार थापाले ३ विकेट लिए। यस्तै हरिशंकर साहले २ तथा विवेक यादव र रबि साहले १/१ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो। प्रदेश-२ का हरिशंकर साहले ६० रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै विवेक यादवले ४१ रन जोड्दा महबुब आलमले २३ रन जोडे। राहुल प्रताप सिंह १२ रन आउट हुँदा कुमार थापा ११ रनमा अविजित रहे। सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३र३ विकेट लिए। अरुण ऐरीको नाममा २ विकेट रह्यो।
जितसंगै समूह ुबीु सुदूरपश्चिमले ४ खेलमा २ अंक जोड्यो। सुदूरपश्चिम प्रतियोगिताबाट यस अघि नै बाहिरिसकेको छ। यस हारसंगै प्रदेश-२ पनि प्रतियोगिताबाट बाहिरिएको छ। प्रदेश-२ ले ३ खेलमा अंक जोड्न सकेको छैन। पुछारको प्रदेश-२ को लगातार तेस्रो हार हो। अन्तिम खेलमा प्रदेश-२ ले नेपाल पुलिससँग खेल्नेछ।

























