काठमाडौं, माघ ११ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार वालिङ नगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो।
आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन्। यस्तै दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरिन्। तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको वालिङविरुद्ध आर्मीले १४ औं मिनेटमा अग्रता बनाएको थियो। शर्मिला थापाको क्रस पासमा विमला चौधरीले गोल गरेकी थिइन्। खेलको २८ औं मिनेटमा दिपाको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो। सपना लामाले उपलब्ध गराएको पासमा दिपाले वालिङकी गोलकिपर सावित्री किशनलाई बिट गर्दै गोल गरेकी थिइन्।
खेलको ४४ औं मिनेटमा शर्मिलाले गोल गर्दा आर्मी पहिलो हाफमा ३-० ले अघि रह्यो। विमलाले प्रहार गरेको बल वालिङकी गोलकिपर सावित्रीले नियन्त्रणमा लिन नसकेको बलमा शर्मिलाले गोल गरेकी हुन्। दोस्रो हाफमा पनि आर्मीले गोल गर्ने क्रमलाई कायम राख्यो।
खेलको ६६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४-० को अग्रता दिलाईन्। विमलाले वालिङको बिदेशी खेलाडी भेनिसा नोएलीले गरेको गल्तिको फाउदा उठाउदै भली गोल गरेकी थिइन्।
प्लेयर अफ दि म्याच बनेकी विमलाले ७५ औं मिनेटमा ह्याट्रिक पुरा गरिन्। वालिङको गोलकिपर सावित्रीबाट आएको रिबाउण्ड बललाई उनले पोस्टको दिशा दिईन्। शर्मिलाको सशक्त प्रहार सावित्रीले पन्च गरेकी थिइन्। खेलको ८९ औं मिनेटमा हेमाले गोल गर्दा आर्मी ६-० ले अघि रह्यो। दोस्रो हाफमा मैदान प्रवेश गरेकी हेमाले सिक्स यार्ड बक्स नजिकैबाट गोल गरेकी थिइन्।
त्यसपछि खेलको इन्जुरी समयमा भुजुङ्गाले गोल गर्दै आर्मीलाई ७-० को जित दिलाईन्। दोस्रो हाफमा मैदान प्रवेश गरेकी उनले विमलाको पास सदुपयोग गर्दै वालिङका गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिइन्।
जितसंगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। वालिङको यो पहिलो हार हो। पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो। वालिङले २ खेलमा १ अंक जोडेको छ।

























