माघ ११ । रूसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा हजारौँको सहभागितामा प्रदर्शन गरिएको छ। प्रदर्शन चर्किएपछि रूसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ। नाभाल्नीका कयौँ निकटस्थहरूलाई प्रदर्शन अगाडि नै गिरफ्तार गरिएको छ।
गत आइतवार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन्। नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० शहरमा भएको बताइएको छ।
शनिबार पक्राउ पर्नेहरूमा नाभाल्नीकी धर्मपत्नीसहितका नाभाल्नीका निकट सहयोगीहरू भएका प्रदर्शनकारी समूहले बताएको छ। रूसी विपक्षी नेता एलेक्सी नाभाल्नी पाँच महिना पहिले रूसको ओम्स्कबाट मस्कोका लागि एक विमानमा आउनेक्रममा अकस्मात विरामी परेको रिपोर्टपछि उनको विमानलाई आकस्मिक अवतरण गराई प्राथमिक उपचार दिइएको थियो।
पछि उनको उपचारका लागि परिवारको आग्रहमा जर्मनीले इच्छा देखाएपछि गत अगस्टमा बर्लिन लगिएको थियो। त्यहाँ उपचारका क्रममा उनको खानामा बेहोस पार्ने सोभियतकालीन रसायन नोभिचोकको प्रयोग गरिएको दावी जर्मन ल्याबहरूले दावी गरेका छन्। करिब पाँच महिनाको जर्मनी बसाई र उपचारपछि उनी बर्लिनबाट नियमित उडानमार्फत् गत हप्ता रूसी राजधानी मस्को फिर्ता भएका थिए। ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएको छ।

























