काठमाडौं, माघ ९ । प्रदेश-१ ले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबारकर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्दै प्रदेश-१ ले पहिलो जित निकालेको हो।
प्रदेश-१ ले दिएको २ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ३५ ओभरमा अलआउट हुँदै १ सय ५६ रनमा समेटियो। कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रन जोडे। यस्तै निश्चल रावलले ३१ रन जोड्दा कप्तान रविन्द्र शाहीले १८ रन बनाए। दिवन पुन १४ र दिनेश अधिकारी ११ रनमा आउट भए। प्रदेश-१ का मिनास थापाले २६ रन खर्चिएर ५ विकेट लिए। दिपेश कँडेलले ३ र मनोज तामाङले २ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो। प्रदेश-१ को लागि कप्तान सिद्धान्त लोहनीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै शुभशंकर उराले ३६ रन जोड्दा मिनास थापाले २५ रन बनाए। सर्वन यादव र फिर्दोस अन्सारीले १७/१७ रन जोड्दा राजन मगरले १० रन बनाए। कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए।
यस्तै दिनेश अधिकारी र अनुज चुनाराले २र२ विकेट लिए। जितसंगै प्रदेश-१ ले ४ खेलमा २ अंक जोडेको छ। तर, समूह ‘ए’ को प्रदेश-१ प्रतियोगिताबाट बाहिरिसकेको छ। प्रदेश-१ चौंथो स्थानमा रहेको छ। कर्णालीको यो दोस्रो हार हो। कर्णाली ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।


























