काठमाडौं, माघ ९ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्राधनमन्त्री केपी शर्मा ओलीसँग बिहीवार भेट गरेर अमेरिकी राष्ट्रपति जो बाइडनको प्राथमिकताका विषयमा चर्चा गरेका छन्।
अमेरिकी दूतावासको आधिकारिक वेबसाइटमा प्रकाशित समाचारअनुसार, बाइडन प्रशासनले नेपाल तथा अन्य मुलुकसँग मिलेर जलवायु परिवर्तन, आणविक प्रसार, साइबर वारफेयर र कोभिड–१९ जस्ता विश्वव्यापी महामारी लगायतका साझा चुनौतीको सामना गर्न चाहेको राजदूत बेरीले जानकारी गराए।
नयाँ प्रशासनले विश्वव्यापी सम्पर्कका लागि कूटनीतिलाई प्राथमिक साधन बनाउने राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई बताए। नेपाल लगायतका लोकतान्त्रिक मुलुकहरूसँग अमेरिकाको साझेदारीलाई पुनर्ताजगी दिन अमेरिकाको जोड रहने पनि बाइडनको भनाइ छ।
जलवायु परिवर्तनको अग्रमोर्चामा नेपाल पनि रहेको राजदूत बेरीले स्वीकार गरे। सगरमाथा संवादलाई सफल बनाउन तथा मिलेर जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न छलफल गर्ने अमेरिकी दूतावासको इच्छा रहेको पनि राजदूत बेरीले सन्देश दिए।
बाइडन प्रशासनले मानवअधिकारमा पनि जोड दिने सन्देश राजदूत बेरीले दिएका छन्। अमेरिकाको नयाँ प्रशासनको विश्वव्यापी प्राथमिकताका विषयमा नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग राजदूत बेरीले उच्चस्तरीय भेटघाट गर्नेछन्। त्यसैको कडीका रूपमा उनले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन्।


























