काठमाडौं, माघ ९ । राष्ट्रिय महिला लिग फुटबलमा आज (शुक्रबार) एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।
पुलिस र चौदण्डीगढीबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ। चौदण्डीविरुद्ध मैदान उत्रदा पुलिस पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो। उपाधि दाबेदार मानिएको पुलिसका लागि यस खेल महत्वपूर्ण रहेको छ। चौदण्डी भने पुलिसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ। चौदण्डीको यो पहिलो खेल हो।
जारी लिगमा एपीएफले मात्र जित निकालेको छ। एपीएफले बिहीबार चन्द्रपुरलाई ६-० ले हराएको थियो। महिला लिगमा तीन विभागीयसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको विजेताले नगद १५ लाख सहित ट्रफी प्राप्त गर्नेछ। दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

























