सिरहा, माघ ९ । ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ लागुऔषधसहित गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेशकुमार साह र मिर्चैया नगरपालिका–८ निवासी २७ वर्षीय अनिल शर्मालाई पक्राउ गरेको हो।
लागुऔषध बिक्री वितरणका लागि गोलबजारबाट लहानतर्फ आउँदै गर्दा गोप्य सूचनाका आधारमा स ७ प ५७१२ नंको पल्सर मोटरसाइकल र स १० प ५५२२ नंको मोटरसाइकलमा जाँच गर्दा लागुऔषध बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए।
पक्राउ परेकाहरुको साथबाट डिलक्स डिसी ३ ४ बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नोफिन इन्जेक्सन ४५ थान, फेनारगन ४५ थान, स्पासप्रोक्सन ४८ थान, नाइट्रोभेट ट्याब्लेट एक हजार ४९७ थान लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए। रासस

























