काठमाडौं, माघ ८ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो।
पुलिसले दिएको ३ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३६ रन मात्र बनाउन सक्यो। लुम्बिनीका लागि सौरभ खनालले ७४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। कप्तान कृष्ण कार्कीले अविजित रहदै ४० रन जोडे। यस्तै देव खनालले ४९ रन जोड्दा सन्दीप रजालीले ४० रन जोडे।
पुलिसका राशिद खान र पवन सर्राफले २/२ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। पुलिसका लागि सुनिल धमलाले शतकीय इनिङ्स खेले। पहिलो शतक बनाउने क्रममा सुनिलले १ सय ४ रन जोडे।
दिपेन्द्र सिंह ऐरीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका पवन सर्राफले १३ बलमा अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ६ छक्का र १ चौका प्रहार गरे। यससंगै उनले घरेलु क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका छन्। त्यस्तै आरिफ शेखले २९ रन जोड्दा अमित श्रेष्ठले २९ रन बनाए।
लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले एक एक विकेट लिए। जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले ३ खेलमा ४ अंक जोडेको छ। पुलिस दोस्रो स्थानमा रहेको छ। लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ। लुम्बिनी तेस्रो स्थानमा रहेको छ।


























