काठमाडौं, माघ ७ । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो।
सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो। पुलिसको जितमा सुनिल धमलाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै कुशल भुर्तेलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले। अमित श्रेष्ठ १ रनमा अविजित रहे। सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० बनाएको थियो।
सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए। यस्तै सन्जु धामीले ३५ रन जोडे। अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रन बनाए। पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४/४ विकेट लिए। जितसंगै पुलिसले २ खेलमा २ अंक जोडेको छ।
समूह ‘बी’ मा रहेको पुलिस पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो। सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो। सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतीसँग नै पराजित भएको थियो।


























