सर्लाही, माघ ७ । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित २ जना पक्राउ परेका छन्। नवलपुर–मलंगवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करीब ७१ तोला चाँदीका गहना र सुनसहित २ जना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले नवलपुर–मलंगवा सडकखण्डमा सवारी जाँच गर्ने क्रममा अवैध चाँदी र सुनसहित रौतहटको चन्द्रपुर नगरपालिका–१ का २७ वर्षीय मोटरसाइकल चालक शशीकृष्ण गजमेर र पछाडि सवार सरोज विकलाई पक्राउ गरेको जनाएको छ।
छिमेकी देश भारतबाट मलंगवा हुँदै नवलपुरतर्फ आएको बा ६९ प ५१६१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा भन्सार छलेर ल्याइएको ७१ तोला ३४ लाल चाँदीको गहना र २७.७ लाल सुन झोलामा पोका पारेर लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।
उनीहरूको साथबाट नगद ३७ हजार ५०० रुपैयाँ समेत बरामद भएको र भन्सार छली गरेर ल्याइएको गहनाको अन्दाजी मूल्य रु ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालय मलंगवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। खुला सिमानाका कारण पछिल्लो समय भन्सार छली तथा सिमानामा चोरी तस्करीका घटना निरन्तर हुने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ। रासस


























