काठमाडौं, माघ ५ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश १ ले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई १०३ रनको लक्ष्य दिएको छ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०२ रन बनाएको हो। प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रनको योगदान गरे। त्यस्तै मनीष थापाले २२ रन बनाउँदा दीपक पासवानले ११ रनको योगदान गरे।
बलिङतर्फ गण्डकीका लागि विशाल पौड्यालले ह्याट्रिकसहित चार विकेट लिए। ६ ओभर ४ बल बलिङ गरेका उनले चार विकेट लिन सफल भए। उनले २८औं ओभरमा ह्याट्रिक पूरा गर्न सफल भएका थिए। त्यस्तै सुवास भण्डारीले ४ विकेट लिन सफल भए। गण्डकीका लागि विपिन खत्रीले दुई विकेट लिए।
आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन्। पहिलो खेलमा पराजित भएको गण्डकी प्रदेश आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ।यता प्रदेश १ ले प्रतियोगिताअन्तर्गत आज पहिलो खेल खेल्दै छ। आजको खेलमा जित निकाल्दै प्रदेश १ प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ।


























