काठमाडौं, माघ ५ । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल अहिले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको छ।
समूह ए अन्तर्गत खेलमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि बागमती पहिले ब्याटिङ गरिरहेको छ। आइतबार भएको खेलमा साविक विजेता नेपाल पुलिसलाई ७ विकेटले पराजित गरेको बागमती लगातार जित हात पार्ने लक्ष्यमा छ।
बागमतीले आज अरियो पौडेलको स्थानमा विपिन बचार्यलाई पहिलो रोजाइमा खेलाएको छ। सुदूरपश्चिम भने प्रतियोगितामा पहिलो खेल खेल्दैछ। यो समाचार तयार पार्दासम्म बागमतीले ७ ओभर खेल्दै १ विकेट गुमाएर ४९ रन बनाएको छ। पारस खड्का र आदिल खान समान १५ रन बनाएर खेलिरहेका छन्।
यस्तै मुलपानी क्रिकेट मैदानमा समूह ‘बी’ मा रहेका गण्डकी र प्रदेश १ खेलिरहेका छन्। खेलमा प्रदेश १ ले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।गण्डकी पहिलो खेलमा आर्मीसँग ९८ रनले पराजित भएको थियो भने प्रदेश १ पहिलो खेल खेलिरहेको छ। प्रदेश १ ले ११ ओभर खेल्दा २ विकेट गुमाएर ५३ रन बनाएको छ।


























