काठमाडौं, माघ ३ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (शनिबार) एक खेल हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज विभागीय टिम एपीएफ र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ। समूह ‘ए’ मा रहेका दुई टिमबीचको खेल साढे ९ बजे सुरु हुनेछ। वसन्त रेग्मीको कप्तानीमा मैदान उत्रने एपीएफ सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ। राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफको टिम निकै मजबुत रहेको छ।
यता, प्रदेश-१ पनि सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ। सिद्दान्त लोहनीको कप्तानीमा रहेको प्रदेश-१ लाई पनि निकै बलियो टिमको रुपमा हेरिएको छ। दाङमा भएको महिलाको पीएम कप प्रदेश-१ ले जितेको थियो। यसै समूहको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरिसकेको छ। शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो।
पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गरिरहेका छन्। क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ।समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।


























