काठमाडौं, माघ २ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज (शुक्रबार) बाट सुरु हुँदैछ। दाङमा महिलाको पीएम कप सफलतापूर्वक आयोजना गरेको नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारबाट पुरुषको प्रतियोगिता गर्न लागेको हो।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलसँगै पुरुषको पीएम कप सुरु हुनेछ। टियु मैदानसँगै मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ। पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन्।
क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन्। समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।
प्रतियोगिताका लागि अधिकांस टिमले टिमको घोषणा गरिसकेका छन्। विभागबाहेक प्रदेश टिमले छनोट प्रतियोगिता गरेर टिमको घोषणा गरेको हो।प्रतियोगितामा सहभागी १० वटै टिम च्याम्पियन बन्ने लक्ष्यमा रहेका छन्। केहि बाहेक राष्ट्रिय टिममा रहेका अधिकांस खेलाडीले पीएम कप खेल्ने छन्।
तर, तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र युवा खेलाडी कुशल मल्लले पीएम खेल्ने छैनन्। राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले बागमती प्रदेशबाट खेल्ने छन्। उनीहरु युएईमा आयोजना हुने टी-टेन लिग खेल्न त्यसतर्फ जाने छन्।


























