मोरङ, पुस २७ । मोरङको विराटनगर र उर्लाबारीबाट ब्राउन सुगरका चार कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। विराटनगरबाट एक जना भारतीय नागरिकसहित दुई युवा र उर्लाबारीबाट एक युवतीसहित दुई जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
उनका अनुसार उर्लाबारी नगरपालिका–६ मा रहेको होटल ह्याभन भ्यालीबाट मोरङको रतुवामाई नगरपालिका–१० का धजेन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–४ की २० वर्षीया कविता लिम्बू पक्राउ परेका छन्। उनीहरुको साथबाट प्रहरीले १४ ग्राम ब्राउन सुगर फेला परेको छ।
विराटनगर महानगरपालिका–१० शान्ति चोकबाट पनि प्रहरीले ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का २२ वर्षीय धमेन्द्र रजक र भारत अररीयाका २२ वर्षीय मोहम्द अफरोज रहेका छन्। उनीहरूका साथबाट चार ग्राम ५९० मिलिग्राम ब्राउन सुगर बरामद भएको एसपी खड्काले बताए।


























