पुस २७ । भारतका विभिन्न राज्यमा एभियन इन्फुएन्जा अर्थात् बर्ड फ्लु फैलिएको छ। यो संक्रमण कम्तीमा पनि नौ राज्यमा पुगिसकेको सरकारी अधिकारी तथा समाचार एजेन्सीहरूले जनाएका छन्।
पछिल्लोपटक भारतको केन्द्रीय राजधानी नयाँदिल्ली र महाराष्ट्रको पश्चिमी भेगमा पनि बर्ड फ्लु देखिएको सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। यसैबीच दिल्ली आसपासमा दुई सयभन्दा बढी चरा (धेरैजसो काग) मृत अवस्थामा भेटिएपछि नयाँदिल्लीस्थित घाजीपुर होलसेल पोल्ट्री मार्केट प्रशासनले बन्द गरेको छ। यो बजार यस क्षेत्रको सबैभन्दा ठूलो हो।
संक्रमणको जोखिमलाई ख्याल गर्दै प्रशासनले पार्क, तालतलैयालगायत क्षेत्रमा भ्रमण गर्न रोक लगाएको छ। मुम्बईबाट करिब पाँच सय किलोमिटर टाढाको परवानी जिल्लाका कलेक्टर मधुकर मुग्लिकरले भने, ‘मृत भेटिएका पन्छीहरूको नमुना परीक्षणका लागि पठाइएको थियो। परीक्षण नतिजाले बर्ड फ्लु नै भएको पुष्टि गरेको छ।’ यसकारण यो क्षेत्रमा रहेका आठवटा पोल्ट्री फर्मका आठ हजार कुखुरा नष्ट गर्न निर्देशन दिएको उनले बताए।
यसैगरी आइतबार मात्रै उत्तर प्रदेश सरकारले कानपुरमा रहेको चिडियाखाना बन्द गर्न निर्देशन दिएको थियो। चिडियाखानाका जंगली कुखुरा र दुईवटा सुगा मृत अवस्थामा फेला परेपछि नमुना परीक्षण गराउँदा बर्ड फ्लु पुष्टि भएको थियो। कानपुर जिल्ला पशु कार्यालय प्रमुख आरपी मिश्राका अनुसार चिडियाखानानजिकै रहेको पोल्ट्री फार्मका कुखुराहरू पनि मार्ने प्रक्रिया सुरु भएको छ। चिडियाखाना आसपासका १० किलोमिटर क्षेत्रमा पन्छी बिक्रीमा रोक लगाइएको छ। उत्तर प्रदेशका अन्य क्षेत्रमा भेटिएका मृत पन्छीको पनि नमुना परीक्षण भइरहेको भोपालस्थित केन्द्रीय प्रयोगशालाले जनाएको छ।
यसबाहेक केरला, राजस्थान, मध्यप्रदेश, हिमाञ्चल प्रदेश, हरियाणा र गुजरातमा पनि बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। यी क्षेत्रमा मृत अवस्थामा भेटिएका ब्रोइलर कुखुरा, काग, परेवा, मयुर र अन्य बसाइँसराइबाट आएका पन्छीको नमुना परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो।
बर्ड फ्लुले विशेषतः घरपालुवा पन्छी र जंगली पन्छीमा असर गर्ने भए पनि उनीहरूको प्रत्यक्ष संसर्गमा रहने मानिसलाई पनि यसको उच्च जोखिम हुन्छ। यसकारण बर्ड फ्लु देखिएका राज्यहरूमा सतर्कता अपनाउनुका साथै जोखिमयुक्त क्षेत्र बन्द गरिएको छ। एजेन्सी


























