पुस २७ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ। आइतबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, आरोन रामसे र डानिलोले एक एक गोल गरे। सासुओलोका ग्रेगोइरे डेफ्रेले एक गोल फर्काए।
युभेन्ट्सविरुद्ध सासुओलो पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो। उसका पेड्रो ओबोयाङले पहिलो हाफको अन्तिम समयमा रातो कार्ड पाएका थिए।दोस्रो हाफमा घरेलु टिमले अग्रता बनायो। खेलको ५० औं मिनेटमा डानिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर,५८ औं मिनेटमा सासुओलोका डेफ्रेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। खेलको ८२ औं मिनेटमा रामसेले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३-१ को महत्वपूर्ण जित दिलाए।
जितसँगै युभेन्ट्सले १६ खेलमा ३३ अंक जोडेको छ। युभेन्ट्स तालिकाको चौंथो स्थानमा रहेको छ। सासुओलो २९ अंक जोडेर सातौं स्थानाम रहेको छ। एजेन्सी


























