चितवन, पुस २५ । चितवनमा पछिल्लो समयमा थारु समुदायको संस्कृति बिस्तारै हराउदै गईरहेका छन्। थारु जातिको बाहुल्यता रहेको चितवनका रत्ननगर, खैरहनी, कालिका, राप्ती, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा बसोबास गर्ने आदिबासी जनजाती थारु समुदायको आफ्नो छुट्टै कला र सांस्कृतिक पहिचान छ। तर पछिल्लो समय नयाँ पुस्ताको आधुनिकिकरणसंगै सामिप्य बढ्दै गएदेखि आफ्नो संस्कृतीको पहिचान दिलाउने थारु नृत्यहरु लोप हुदै गईरहेको छ।
थारु समुदायले आफुले मनाउने हरेक चार्ड पर्व, मेला महोत्सवमा विभिन्न किसिमका संस्कृति झल्किने गीतहरु गाउने गर्दछन्। थारु समुदायहरु आ -आफ्नो भेषभुषामा सजिएर आफ्नो पहिचान झल्कने नाच गान गरेर चाड पर्व मनाउने गर्दछन्। थारु समुदायले वर्ष भरी राखेको देउतालाई (ब्रम्ह्स्थान) मा गई पुजापाठ गर्ने र नयाँ राख्नको लागि गाउँबाटै नाचगान सहित निस्कने गरिन्छ। नाचगान गर्दै नजिकै रहेको खोला वा नदिमा पुगी नुहाएर आफ्नो पुरानो देउतालाई सफा सुग्घर गरि नयाँ देउतालाई भित्राउने चलन थारु समुदायमा छ।
त्यसरी नयाँ देवता भित्राउँदा घरबाट महिलाहरुले लगेको मिठोमिठो खानेकुरा सहभागि भएका हरुलाई बाडेर खान दिने गरिन्छ। खोला नजिकै नाचगान गरेर खानपीन गर्ने थारु समुदाय एक आपसमा सुख दुःखका कुरा गर्ने र सोहि स्थानमा नाच्ने गर्दछन्। केही समय त्यही ठाउँमा नाचगान गरेर पुन गाउँमा फर्केर घरघरमा नाचगान गर्ने चलन रहेको छ। यस्तो प्रकारको नाच थारु समुदायमा झुमरी, ठकरा, ढोलकहरी, डम्फु लगाएतका नाच समय अनुसार नाच्ने र गाउँने गर्दछन्।


थारूहरूको स्थान विशेष अलग नाम, थर, भाषा र सभ्यता छ। थारू नामका आधारमा एउटै जाति भए पनि भाषिक र सांस्कृतिक दृष्टिकोणले एकापसमा भिन्नता रहेको पाइन्छ। थारू सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो। थारुहरूको आफ्नै भेषभूषा, गरगहना, परम्परागत शैली छ। थारूहरूले विभिन्न भौगोलिक क्षेत्रअनुसार फरक–फरक किसिमको आ–आफ्नै प्रकारको भाषा, रहनसहन, संस्कार, मूल्यमान्यता, सांस्कृतिक रीतिरिवाज आदि अँगालेको पाइन्छ। तर पछिल्लो समय नयाँ पुस्ताले विर्सन थालेपछि थारु संस्कृती र पहिचान क्रमश हराउँदै जान थालेको छ।थारु समुदायको संस्कृति लोप हुन थालेकोभन्दै थारु अगुवाहरु चिन्तित छन्।


























