लमजुङ, पुस २४ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा तीन आर्थिक वर्षमा २४ जना प्रतिवादी फरार भएका छन्। आर्थिक वर्ष २०७५/२०७६ साउनदेखि चालू आर्थिक वर्षको पुस २३ गतेसम्म बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला अदालत लमजुङले विभिन्न मुद्दामा कैद तथा जरिवाना गरेका प्रतिवादी यतिका सङ्ख्यामा फरार रहेको अदालतका श्रेस्तेदार उदयराज काफ्लेले बताए।
उनका अनुसार लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका २४ पुरुष प्रतिवादी फरार छन्। अदालतका अनुसार चालू आवको साउनदेखि पुस २३ गतेसम्म चार पुरुष प्रतिवादी फरार छन्। जबर्जस्ती करणी, बालविवाह, अवैधरुपमा काठ ओसारपसारलगायत मुद्दाका प्रतिवादी फरार रहेको अदालतले जनाएको छ।
अदालतका अनुसार गत आव २०७६/२०७७ को एक वर्षका अवधिमा नौ जना विभिन्न मुद्दाका प्रतिवादी पुरुष फरार थिए। लागुऔषध, नकबजनी चोरी, जबर्जस्ती करणी, बालविवाह, अवैध रुपमा काठ ओसारपसारलगायत मुद्दाका नौ पुरुष प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदार काफ्लेले बताए।
त्यस्तै अघिल्लो आव २०७५/२०७६ मा विभिन्न मुद्दाका ११ प्रतिवादी फरार थिए। फरारमध्ये कर्तव्य ज्यान, बालविवाह, लागुऔषध, नकबजनी चोरी, अवैधरुपमा काठ ओसारपसार, जबर्जस्ती करणीलगायत मुद्दाका प्रतिवादी रहेको अदालतले जनाएको छ। फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सक्रियता देखाउँदै आए पनि सबै पक्राउ गर्न भने नसकेको अदालतका श्रेस्तेदार काफ्लेको भनाइ छ।
उनले भने, “ढिलो चाँडो सबै फरार रहेको विभिन्न मुद्दाका प्रतिवादी प्रहरीले पक्राउ गर्नेछ। केही फरार प्रतिवादी प्रहरीले पक्राउसमेत गर्दै आइरहेको छ।” आर्थिक वर्ष २०७७/२०७८ मा ३८ फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा अधिकतम नौ वर्ष छ महिना २१ दिन कैद भुक्तान गर्नुपर्नेदेखि २० रुपैयाँ जरिवाना तिर्नुपर्नेसमेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए। उनका अनुसार गत आवमा १४ जना फरार प्रतिवादी पक्राउ परेका थिए।
गत आवमा ४० हजारदेखि १८ दिन कैद भुक्तानी गर्न बाँकी रहेका प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रनि पुनले भने, “प्रहरी प्रशासन फरार प्रतिवादी पक्राउ गर्न लागिपरेको छ।” स्थानीयतह, स्थानीयवासी, जनप्रतिनिधि र प्रविधि प्रयोग गर्दै प्रतिवादी पक्राउ गर्न सफल भइरहेकाले आगामी दिनमा पनि पक्राउ गर्न सकिने उनको भनाइ छ।
जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला गरिसकेपछि प्रतिवादी विभिन्न देशमा रोजगारीका लागि गइसकेकाले पक्राउ गर्न समय लागिरहेको प्रहरीको भनाइ छ। उनीहरु स्वदेश फर्किएपछि पनि कानूनको दायरामा भने ल्याइरहेको प्रनि पुनले बताए। उनले भने, “हामीले फरार रहेका प्रतिवादी ३०/३१ वर्षपछि समेत पक्राउ गरेका छौँ।” ढिलै भए पनि फरार व्यक्तिलाई कानूनी दायरामा ल्याउँदा पीडितले समेत केही राहत महसुस गरेको प्रहरीले जनाएको छ। रासस


























