पुस २४ । अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा भारतले मध्यम सुरुवात गरेको छ। सिड्नीमा अष्ट्रेलियालाई शुक्रबार अलआउट गर्दै पहिलो इनिङ्स थालेको भारतले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर ९६ रन बनाएको छ।
भारतका शुबमन गिलले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा रोहित शर्माले २६ रन बनाए। चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहने ५ रनमा अविजित रहेका छन्। अष्ट्रेलियाका जोश हाजलउड र पाट कुमिन्सले १/१ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अलआउट हुँदै ३ सय ३८ रन बनाएको थियो। १ सय ६६ रनमा २ विकेट गुमाएर दोस्रो दिनको खेल थालेको अष्ट्रेलियाले १ सय ७२ रन जोड्न बाँकी विकेट गुमाएको हो। घरेलु टोलीका लागि स्टेभन स्मिथले १ सय ३१ रनको शतकिय इनिङ्स पुरा गरे। रबिन्द्र जडेजाबाट बोल्ड हुनु अघि स्मिथले १६ चौकाको मदतले अष्ट्रेलियालाई बलियो अवस्थामा पुर्याएका थिए।
ओपनर विल पोकोवस्कीले ६२ रन बनाएको ईनिङ्समा मार्नस लाबुस्चगने शतक बनाउन ९ रनले चुके। उनलाई जडेजाले आजिक्या रहाणेको हातबाट क्याच आउट गराए। अन्य ब्याट्सम्यान खासै चल्न सकेनन्। भारतका जडेजाले ४ तथा जस्प्रित बुम्राहा र नाभदीप शैनीले २/२ विकेट लिए । मोहमद सिराजको नाममा एक विकेट रह्यो।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १/१ को बराबरीमा रहेको छ। पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो। यस्तै दोस्रो टेस्ट भारतले ८ विकेटले नै आफ्नो बनाएको थियो। एजेन्सी


























