काठमाडौं, पुस २२ । दाहाल–नेपाल समूहको नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली सत्ताको मातले बिग्रिएको बताए छन्। विभिन्न राजनीतिक दलहरुसँगको अन्तरक्रियामा बुधबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘संसद्मा हामी ओलीको भाषण सुन्थ्यौं, मर्यादा, सम्मान र शिष्ष्टता केही हुँदैनथ्यो। तर हामीलाई विरोध गर्न गाह्रो थियो। अनुभव हुन्थ्यो। सत्ताको मातले मान्छेलाई बिगार्दो रहेछ।’
नेपालले ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध सँगसँगै जान राजनीतिक दलहरुलाई अपिल गरे। उनले यसका लागि आफ्नो पार्टीले दलैपिच्छे भिन्नै छलफल गरिने बताए।
अध्यक्ष नेपालले आन्दोलन संयुक्त रुपमा अघि बढाउन आआफ्नो दलमा छलफल गर्न नेताहरुलाई आग्रह गरे। उनले भने, ‘विगतमा जसरी एकजुट भएर हातेमालो गरौं।’
नेता नेपालले संसद् विघटन ओलीले अचानक गराएको नभई क्रमबद्ध रुपमा एकलौटी रुपमा अघि बढ्दाको परिणाम भएको बताए।
उनले भने, ‘उहाँ पार्टीको बैठक नडाक्ने, बैठकमा बोलाउँदा नआउने र एकलौटी रुपमा अघि बढ्दै जानुभयो। अचानक भएको घटना होइन। चरम रुपमा पुगेपछि संसद् विघटन गर्नुभएको हो। यो ओली प्रवृत्तिको विभत्स रुप हो।’
ओलीको यही प्रवृत्तिका विरुद्धमा जनता सडकमा उत्रिएको बताए।
आफैंले संसद् विघटन गराएर कामचलाउ भइसक्दा पनि ओली प्रधानमन्त्री भइरहनु हास्यास्पद रहेको नेपालको भनाइ छ। उनले भने, ‘यो भन्दा निरंकुश र अहंकारी चरित्र के हुन्छ?’
अध्यक्ष नेपालले ओलीबाट संकटकाल लगाउने र अनेक खालका तानाबाना बुनिरहे पनि त्यो सफल हुन नदिने दाबी गरे।


























