काठमाडौं, पुस २१ । चितवन क्रिकेट एसोसियसनले बागमती प्रदेश क्रिकेट टिम छनोट खेलको उपाधि जितेको छ। मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा काठमाडौं जिल्लालाई १ सय ९३ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो।
चितवनले दिएको २ सय ६१ रनको लक्ष्य पछ्याएको काठमाडौं २५ ओभर ४ बलमा अलआउट हुँदै ६७ रनमा समेटियो। काठमाडौंका रजत तिमल्सिनाले सर्वाधिक १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। चितवनका संघर्ष पौडेलले ५ विकेट लिए। दिपेश श्रेष्ठको नाममा २ विकेट रह्यो।
यस अघि पहिले ब्याटिङ गरेको चितवनले ४० ओभरमा ६ विकेट गुमाएर २ सय ६० रन बनाएको थियो। चितवनका लागि आकाश थापाले १ सय ३६ रनको शतकीय इनिङ्स खेले। गौतम केसीले ३२ रन जोड्दा प्रतिक श्रेष्ठले २५ तथा रोविन शर्माले २४ रन बनाए। काठमाडौंका चन्द्र कुमार बुढा, सुमन उदय, सन्जम रेग्मी र अरियो पौडेलले १/१ विकेट लिए।


























