लमही, पुस १८ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपीएफलाई ६१ रनको लक्ष्य दिएको छ।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनायो। सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रनको योगदान गरिन्। त्यस्तै रेवती धामीले १२ रन बनाउँदा सम्झना खड्काले ३ रनको योगदान गरिन्।
बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन्। त्यस्तै कप्तान सीता राना मगरले एक विकेट लिन सफल भइन्। खराव मौसमका कारण खेल १६ ओभरमा घटाइएको खेलमा दुबै टोली दबाबमा रहेका छन्। मैदानमा हुस्सु लागेका कारण खेलको ४ ओभर घटाइएको थियो।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण छ। साविकको विजेता भएका हिसावले एपीएफ आजको खेलमा जित निकाल्दै प्रतियोगिताको फाइलनमा आफूलाई स्थान बनाउने योजनामा हुनेछ। यता सुदूरपश्चिम प्रदेश पनि आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा हुनेछ। दुबै टोली प्रतियोगिताको उपाधि दावेदारको रुपमा रहेका छन्।


























