पुस १० । टोटेनहमका पूर्व प्रशिक्षक मौरिसियो पोचिटिनोलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) को नयाँ प्रशिक्षकको मुख्य दाबेदार मानिएको छ। पीएसजीले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेसंगै पोचिटिनोको नाम चर्चामा छ। प्राप्त जानकारी अनुसार पीएसजीका खेलाडीले ४८ वर्षिया प्रशिक्षक क्लबमा सहभागी हुने बताएका छन्। पीएसजी र पोचिटिनो पछिल्ला दुई हप्तादेखि छलफलमा छन्।
लिग वानको पछिल्लो खेलमा स्ट्रासबर्गमाथि ४–० ले जित निकालेको केही घण्टामै क्लबले टुचेललाई बर्खास्त गरेको हो। फ्रेन्च क्लबले जर्मनी प्रशिक्षकलाई बर्खास्त गरेको विषय आधिकारिक रुपमा पुष्टि गरेको छैन। टुचेल सन् २०१८ को जुनमा पीएसजीको मुख्य प्रशिक्षक बनेका थिए। उनले दुई लिग उपाघि सहित फ्रेन्च कप र फ्रेन्च लिग कप जितेका थिए। गत सिजन मात्र पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा प्रवेश गरेको थियो। उपाधि भिडन्तको सो खेल पीएसजीले १–० ले गुमाएको थियो। बोरुसिया डर्टमण्डका प्रशिक्षक टुचेलको सम्झौता यस सिजनको अन्त्यसंगै सकिदै थियो।
उनी सन् २०१८ मा दुई वर्षको सम्झौता सहित क्लबमा भित्रिएका थिए। उनले स्पेनिस प्रशिक्षक उनई ईम्रीलाई स्थानान्तरण गर्दै क्लबको मोर्चा सम्हालेका थिए। सन् २०१९ को मेमा उनले क्लबसंग एक वर्षको सम्झौता नविकरण गरेका थिए।
पीएसजी अहिले फ्रेन्च लिगको तेस्रो स्थानमा रहेको छ। शीर्ष स्थानको लियोन भन्दा एक अंक पछि छ। पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा समेत प्रवेश गरेको छ। उसले स्पेनिस महारथी क्लब बार्सिलोनालाई प्रतिद्धन्दीको रुपमा पाएको छ। बुधबार लिगमा प्राप्त जितले दुई हप्ताको विन्टर ब्रेक अघि पीएसजी शीर्ष स्थानको लियोन र दोस्रो स्थानको लिली भन्दा मात्र एक अंक पछि छ।
पोचिटिनोले टोटेनहमलाई सन् २०१९ मा च्याम्पियन्स लिगको फाईनल यात्रा तय गराएका थिए। उपाधि भिडन्तमा लिभरपुलसंग टोटेनहम पराजित बनेको थियो। पछिल्लो समय पोचिटिनो पीएसजीसंग जोडिएका थिए। उनी सन् २००१ देखि २००३ सम्म पीएसजीबाट खेलेका थिए। पीएसजी पछिल्लो समय टोटेनहमका डेली अलीसंग जोडिएको छ। प्रिमियर लिगमा अली पोचिटिनोकै नेतृत्वमा डेब्यु गरेका थिए। एजेन्सी


























