पुस ८ । लण्डन क्लब आर्सनललाई हराउँदै म्यान्चेष्टर सिटी ईपीएल कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ। मंगलबार राति ईमिरेट्स स्टेडियममा क्वार्टरफाईनलको खेलमा सिटीले घरेलु टोली आर्सनललाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको तेस्रो मिनेटमा ब्राजिली स्टार ग्याब्रियल जिससले सिटीलाई अघि बढाएका थिए। लाकाजेट्टीले ३१ औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काए। दोस्रो हाफमा सिटीले आर्सनलविरुद्ध थप तीन गोल गर्यो।
५४ औं मिनेटमा रियाद महरेजले सिटीलाई २–१ ले अघि बढाए। डिबक्स नजिकैबाट महरेजले प्रहार गरेको फ्रि–किक आर्सनलका गोलकिपरको हातमा लाग्दै पोस्ट भित्र छिरेको थियो। फिल फोडिनले ५९ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे। फोडिनकै क्रसमा लोपार्टीले ७३ औं मिनेटमा हेडमार्फत गोल गर्दै सिटीको ४–१ को जित सुनिश्चित गरेका थिए।
प्रिमियर लिगका पछिल्ला ७ खेलमा जित निकाल्न नसकेको आर्सनलको समस्या यथावत छ। सिटीले आर्सनलविरुद्ध शानदार जित सहित एफ ए कपको उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ। बर्खास्तीको नजिक रहेका मिकेल अर्टेटाको टिम लिग तालिकाको १५ औं स्थानमा छ। लण्डन क्लब रेलिगेशन जोन भन्दा चार अंकमात्र माथि छ। एजेन्सी


























