पुस ८ । लियोनल मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका छन्। स्पेनिस ला लिगा फुटबलमा मंगलबार बार्सिलोनाले रियल भालाडोलिड ३–० ले पराजित गरेको खेलमा मेस्सीले समेत गोल गरे।
मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमानलाई भंग गरेका हुन्। मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए। पेड्रीको ब्याकहिल पासमा मेस्सीले क्लबका लागि तेस्रो गोल गरेका थिए।
मेस्सीकै पासमा क्लेमेन्ट लिन्गलेटले हेडमार्फत पाहुना टोली बार्सिलोनालाई अघि बढाएका थिए। ३५ औं मिनेटमा मार्टिन बे्रथवेट बार्सिलोनाको अग्रता दोब्बर बनाउने काम गरे। ईन्जुरी समयमा मेस्सीको प्रहार पोस्टमा लागेको थियो।
ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए। उनले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए।
मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए। उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे। यस सिजनको अन्त्यसंगै मेस्सीको बार्सिलोनासंगको सम्झौता सकिदैछ।
गत अगष्टमा उनले क्लब छाड्न चाहेको उल्लेख गर्दै क्लबसंग अनुमती माग गरेका थिए। तर क्लबले उनलाई लैजान ७ सय मिलियन युरो रकम तिर्नुपर्ने बताएको थियो। गत हप्तामात्र मेस्सीले समर ट्रान्सफरमा आफ्नो लागि निकै खराब समय रहेको बताएका थिए।
मंगलबार राति मेस्सीले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदा बार्सिलोना तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि छ। एजेन्सी


























