काठमाडौं, पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले बिहीबार आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने भएको छ। ‘आजैबाट देशभरका कार्यकर्तालाई सशक्त रुपमा आन्दोलनमा लाग्न म आग्रह गर्दछु‚’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने‚ ‘पर्सी अरू पार्टीसँग सल्लाह गरेर थप आन्दोलनका कार्यक्रमहरू तय गरिन्छ। अहिलेलाई केपी शर्मा ओलीको अलोकतान्त्रिक र निरंकुश कदमको सशक्त आन्दोलनका लागि आह्वान गरिन्छ।’
ओलीको एकाधिकारवादी सोचका कारण पार्टी पद्धतिमा चल्न नसकेकाले अब दुई अध्यक्षले पार्टीलाई पद्धतिमा चलाउने अध्यक्ष प्रचण्डले बताए। बैठकले दीर्घ सोडारीको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ भने कृष्णबहादुर महरालाई स्थायी समितिमा चयन गर्ने निर्णय अनुमोदन गरेको छ।
बुधबार थप गृहकार्य गरेर आन्दोलनका कार्यक्रम भने बिहीबार घोषणा गर्ने भएकाले प्रचण्ड(नेपाल पक्षले बिहीबार केन्द्रीय समिति बैठक र बुधबार संसदीय दलको बैठक डाकेको छ।


























