काठमाडौं, पुस ६ । नेपाल भलिबल संघले क्लबलाई ब्यवस्थित र कानुनी दायरमा ल्याउन पहल सुरु गरेको छ। उपत्यका सहित देशभरका भलिबल क्लबहरु अब्यवस्थित र अवैधानिक रुपमा सञ्चालनमा आएको उल्लेख गर्दै संघले क्लबलाई समेत व्यवस्थित र कानुनी दायरामा ल्याउन गृहकार्य अघि बढाएको हो।
संघले प्रारम्भिक रुपमा काठमाडौं उपत्यकाभरी विभिन्न स्थानमा दर्ता नगरि सञ्चालनमा रहेका क्लब र ट्रेनिङ्ग सेन्टरको अध्ययन र अवलोकन गर्न उपाध्यक्ष निरोज मास्केको संयोजकत्वमा कमिटि गठन गरेको छ।
संघले उपत्यकामा रहेका क्लब तथा ट्रेनिङ सेन्टरको अवलोकन र निरिक्षण गरि प्रचलित कानुन र नियम अनुसार क्लबलाई सञ्चालन गराउन समन्वयको काम गर्न कमिटिलाई अख्तियारी दिएको छ। कमिटिमा मास्के सहित उपाध्यक्ष ऐनबहादुर शाही, मानविर छन्त्याल, श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठ सदस्य रहेका छन्। कमिटिले प्रारम्भिक रुपमा उपत्यकाका तीन जिल्लामा अवैधानिक रुपमा सञ्चालनमा रहेका भलिबल क्लबलाई ब्यवस्थित गर्न पहल सुरु गर्नेछ। कमिटि संयोजक रहेकी निरोज मास्केले छरिएर रहेका क्लबलाई संघको छाताभित्र जोड्ने उद्धेश्यले गृहकार्य अघि बढ्ने बताईन्।
उनी भन्छिन्, ‘सबै पक्षसंग छलफल गरेर भलिबलका क्लबलाई थप ब्यवस्थित र चलायमान बनाउन खोजेका हौं। जिल्ला स्तरमा रहेका क्लबलाई संघको छातामा जोड्ने पहलको रुपमा यसलाई बुझ्न जरुरी छ।’
राष्ट्रिय खेलको मान्यता प्राप्त गरेपनि भलिबल संघ आफै ब्यवस्थित र पारदर्शी छैन। जिल्ला र क्लबहरुको अवस्था अझ विजोग छ। ७५ वटै जिल्लामा रहेका जिल्ला संघ प्राय निष्कृय छन्। क्लब अवैधानिक रुपमा सञ्चालन भईरहेका छन्।
पछिल्लो समय अनाधिकृत रुपमा भलिबल क्लब गठन गरेर अवैधानिक रुपमा पैसा उठाउने काम भएको सुचना प्राप्त भएपछि संघ गम्भिर बनेको हो। काठमाडौं उपत्यका सहित मोफसलका स्थापना भएको धेरै क्लबहरु जिल्ला, केन्द्र सहित कुनै निकायमा समेत दर्ता छैनन्। संघले प्रारम्भिक रुपमा काठमाडौं उपत्यकामा रहेका क्लबलाई ब्यवस्थित गर्ने गृहकार्य अघि बढाएको हो।
संघकी उपाध्यक्ष समेत रहेकी मास्केले अनाधिकृत रुपमा स्थापना र सञ्चालनमा आएका क्लबलाई कानुनी दायरामा ल्याउन कमिटिले सहजीकरण गर्ने उल्लेख गरिन्।
‘क्लब भलिबल बिना मुलधारको भलिबल बलियो बन्न सम्भव छैन। भलिबलको आधार भनेकै क्लब हो। त्यसैले क्लबलाई संघसंग जोड्न, चलायनमान बनाउन र कानुनी आधार दिएर सहयोग जुटाउन कमिटिले पहल गर्नेछ।’ मास्केले भनिन्।


























