काठमाडौँ पुस ६ । आइतबार संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार आफू निकटका संघीय सांसदहरूसँग छलफल थालेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि सुरु भएको छलफलमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, पार्टी महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्टलसहित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी छन्।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच यति ठूलाे मतभेद देखिँदासमेत माैन देखिएका गृहमन्त्री रामबहादुर थापा भने उक्त छलफलमा सहभागी भएका छैनन्। आइतबार प्रधानमन्त्री ओलीले संसद नै विघटन गरेपछि प्रचण्ड-नेपाल निकटका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिए पनि गृहमन्त्री थापा माैन रहँदा ओली पक्षमा देखिएकाे आँकलन गरे पनि साेमबार प्रधानमन्त्री ओलीले बाेलाएकाे बैठकमा सहभागी नभएपछि कुन पक्षमा भन्ने विषयमा प्रश्न उठेकाे छ। आइतबार पूर्वमाओवादी खेमाका मन्त्रीहरुले पदबाट राजीनामा दिए पनि गृहमन्त्री थापा र उद्योगमन्त्री लेखराज भट्टले भने पद छाडेका छैनन्। प्रधानमन्त्री ओली निकटका सांसदहरुकाे भेला भइरहँदा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका सांसदहरू भने १ बजे संघीय संसद् भवन बानेश्वरमा भेला हुँदैछन्।

























