काठमाडौं, पुस ५ । राष्ट्रिय फुटबल टिमका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते भएका छन्। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका बिमलको अभ्यासको क्रममा खुट्टामा चोट लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव ईन्द्रमान तुलाधरका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ। उनको सल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्।
चिकित्सकसंग थप परामर्शपछि उनको चोटको गम्भिरताको बिषयमा बताउन सकिने तुलाधरले बताए। लामो समयको विश्रामपछि बिमलले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले मुख्य फरवार्डको रुपमा बिमललाई गुमाउने सम्भावना बढेको छ। समय एकिन नभएपनि उनी लामो समय मैदान बाहिर रहने बताईएको छ। विश्वकप छनोटको दौरान अनुशासनको कारबाहीमा परेका बिमल झण्डै तीन महिना कारबाहीमा परेका थिए। निलम्बन फुकुवापछि पनि उनलाई राष्ट्रिय टिममा राखिएन।
नेपालले गत महिना बंगलादेशमा दुई मैत्रीपूर्ण फुटबल खेल्दा समेत बिमललाई राष्ट्रिय टिम बाहिर राखिएको थियो। बंगलादेशबाट फर्किएपछि पुन ५८ जनाको प्रारम्भिक टोलीमा बिमललाई समेत बोलाईएको थियो।
कोरोनाले घरेलु फुटबल बन्द हुनु अघि बिमल मछिन्द्र क्लबसंग आबद्ध भएका थिए। कारबाही फुकुवा भएपछि बिमलले गत वर्षको लिगको अन्तिम खेलमा उत्रिएका थिए। मछिन्द्रले उनलाई लिगको अन्तिम खेल सहित मोफसलका प्रतियोगिताका लागि अनुबन्धन गरेको थियो।


























