पुस ५ । ला लिगामा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ। घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भएको छ। भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै २९औँ मिनेटमा टोलीलाई अग्रता दिलाए पनि मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल बराबरीमा ल्याए।
भ्यालेन्सियाका कप्तान जोसे गायाले एन्टोइन ग्रिजमनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि बार्सिलोनाले पाएको पेनाल्टीमा मेस्सी चुके। तर, पेनाल्टी रोकिएर रिबाउन्डमा आएको गोललाई जोर्डी अल्बाले क्रस गरे। सोही बललाई मेस्सीले हेडरमार्फत गोलमा परिणत गरे।
५३औँ मिनेटमा रोनाल्ड अराउजोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। तर ६९औँ मिनेटमा भ्यालेन्सियाका लागि म्याक्सी गोमेजले गोल गर्दै खेल बराबरीमा ल्याए। बराबरीसँगै बार्सिलोनाले १३ खेलमा २१ अंक जोड्दै पाँचौ स्थानमा यथावत छ। भ्यालेन्सिया भने १४ खेलमा १४ अंकसहित १२औँ स्थानमा छ। एजेन्सी

























