काठमाडौं, पुस ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८ हजार ८४० रहेको छ। यसअघि शुक्रबार (हिजो) को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ थियो।
पछिल्लो २४ घण्टामा थप १ हजार १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४२ हजार ५६७ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि शुक्रबार (हिजो) को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ थियो। नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ७७७ पुगेको छ।


























