पुस ४ । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको दोस्रो ईनिङ्समा भारत सर्वाधिक कम स्कोरमा समेटिएको छ। कप्तान विराट कोहली सहित भारतका ६ खेलाडी १९ रनमा आउट भएको खेलमा भारतले ३१ रन बनाउन ९ विकेट गुमाएको छ।
मोहम्मद शामी रिटायर्ड हर्ट भएको खेलमा भारत ३६ रनमा समेटिएको छ। एडिलेडमा पिङ्ग बलमा खेलिएको टेष्टमा घरेलु टोलीका बलरले उत्कृष्ट प्रर्दशन गरे। भारतको टेष्ट क्रिकेटमा सबैभन्दा कम स्कोर ४२ रनको छ। सन् १९७४ मा ईङ्ल्याण्डको लड्समा भारतीय टिमले सो स्कोर बनाएको थियो। टेष्ट क्रिकेटमा ईङ्ल्याण्डविरुद्ध न्युजिल्याण्डले सबैभन्दा कम स्कोर बनाएको छ। सन् १९५५ मा भएको टेष्ट क्रिकेटमा न्युजिल्याण्डले ईङ्ल्याण्डविरुद्ध २६ रन बनाएको थियो।
न्युजिल्याण्डपछि दक्षिण अफ्रिकाको नाममा टेष्ट खेलमा सबैभन्दा कम रन चार पटक बनेको छ। अफ्रिकी टिम दुई पटक ३० रनमा आउट भएको छ भने अर्को एक पटक ३५ र अर्को पटक ३६ रनमा आउट भएको छ। अफ्रिकी टिमले तीन पटक ईङ्ल्याण्डविरुद्ध र एक पटक अष्ट्रेलियाविरुद्ध कम स्कोर बनाएको ईतिहास छ।
एडिलेडमा पहिलो ईनिङ्समा भारतले २ सय ४४ रन बनाएको थियो। अष्ट्रेलियाले जवाफमा १ सय ९१ रन बनाएको थियो। भारतले ५३ रनको अग्रता सहित दोस्रो इनिङ्स सुरु गरेको थियो । तर ३६ रन बनाउन उसले सबै विकेट गुमायो। पाहुना टोलीले अष्ट्रेलियालाई मात्र ९० रनको लक्ष्य दिएको छ।
मोहमद शामी रिटायर्ड हर्ट हुने बित्तिकै अष्ट्रेलियाले सबै भन्दा कम टेष्ट स्कोर बनाउने रेकर्ड बराबरी गरेको छ। अष्ट्रेलियाको समेत टेष्ट म्याचमा सबैभन्दा कम स्कोर ३६ र ४२ हो। भारतको समेत टेष्ट खेलमा सबैभन्दा कम स्कोर ३६ र ४२ हो। एजेन्सी


























