पुस १ । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (बुधबार) राति ६ खेल हुँदैछ। तालिकाको शीर्ष स्थानमा रहेका लिभरपुल र टोटेनहम बीचको खेलमा सबैको नजर छ। लिभरपुलले घरेलु मैदान एनफिल्डमा टोटेनहमलाई आतिथ्यता प्रदान गर्दैछ। खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ। घरेलु टोली लिभरपुलले जोएल माटिपको फिटनेस हेरेर निर्णय गर्नेछ भने मिडफिल्डर नाबी केईटाले प्रिमियर लिगको ५० औं खेलमा उत्रन सक्नेछन्।
टोटेनहन फरवार्ड ग्यारेथ बेललाई लिएर चिन्तित छ। ज्वरोका कारण उनी नोभेम्बर ८ यता प्रिमियर लिगमा देखिन पाएका छैनन्। ईरिक लामेला भने टोटेनहमको टिमबाट बाहिर हुनेछन्। दुवै टिमको तालिकामा समान २५ अंक छ। बुधबारको खेलमा जित निकाल्दै तालिकामा स्पष्ट तीन अंकको अग्रता लिने अवसर दुवै टोलीलाई रहेको छ।
अर्को खेलमा आर्सनलले घरेलु मैदानमा साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्दैछ। खराब नतिजाले दबाबमा आएका आर्सनललाई चौथो स्थानको साउथह्याम्पटनले चुनौती दिन थालेको हो।
क्लबको मन जितेका आर्सनल प्रशिक्षक मिकेल अर्टेटालाई अनुकुल नतिजा निकाल्ने दबाब छ। पछिल्लो खेलमा बर्नलीविरुद्ध रातो कार्ड खाएका आर्सनलका मिडफिल्डर ग्रानिट जाका मैदान देखिने छैनन्। निलम्बनबाट फुकुवा हुँदै निकोलस पेपे लण्डन क्लबको टिममा पुनरागमन गर्नेछन्।
लण्डन क्लबका मुख्य डिफेन्डर डेभिड लुईज चोटका कारण बुधबारको खेलमा देखिने सम्भावना कम छ। तर साउथह्याम्टनको टिममा चोटको कुनै समस्या छैन। आर्सनल १३ अंक सहित तालिकाको १५ औं स्थानमा छ। साउथह्याम्टन २३ अंक सहित शीर्ष चारमा आफुलाई उभ्याएको छ।
अन्य खेलमा लिड्सले न्युक्यासललाई आतिथ्यता प्रदान गर्दा एभर्टन भने लेस्टरको भ्रमणमा निस्कनेछ। पुछारबाट तेस्रोमा रहेको फुलहमले ब्राईटोनलाई घरेलु मैदानमा बोलाउँदा क्रिस्टल प्यालेस रेलिगेशन जोनमा रहेको वेस्ट ब्रुमको भ्रमणमा निस्कनेछ। एजेन्सी


























