काठमाडौं, पुस १ । एजेण्डामा सहमति नजुटेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी भएका छैनन्।
बैठकअघि बालुवाटारमा करिव एक घण्टा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको भेटवार्तामा एजेण्डामा सहमति नभएपछि ओली सहभागी नभएको उनका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए।
‘उहाँ प्रचण्डसँगको छलफलमा आफूले प्रस्तुत गरेको १९ पृष्टको प्रस्तावकै विषयमा छलफल हुने बताएको सुनियो, त्यसमा हुने छलफलमा प्रधानमन्त्री सहभागी हुने कुरै भएन,’ थापाले भने।
एकपक्षीय रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि विवाद झन चुलिएपछि ओली र दाहालबीच भेटवार्ता भएको थियो। तर, सो भेटले निकास नदिएपछि ओलीबिनै बालुवाटारमा उनको प्रतिक्षासहित बैठक बसिरहेको छ।
दुई जनाको भेटअघि दाहाल निवास खुमलटार पुगेर स्थायी कमिटी सदस्य शंकर पोखरेलले दुई अध्यक्षबीच भेटवार्ता गरेर समस्या समाधानका लागि आग्रह गरेका थिए। पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपा विवाद पछिल्लो समय विभिन्न नियुक्ति र पछिल्लो अध्यादेश प्रकरणपछि झनै चुलिएको छ।
अध्यादेश जारी भएलगत्तै खुमलटारमा मंगलबार बसेको दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले तत्काल अध्यादेश खारेज नभए ओलीविरद्ध कठोर कदम चाल्ने चेतावनीसमेत दिइसकेका छन्।


























